सुदूरपश्चिममा सरकार बनाउन गठबन्धनको बहुमत, मुख्यमन्त्री को ?

धनगढी । सुदूरपश्चिमको बाजुरा बाहेक ४ मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ । मतपरिणाम सार्वजनिक भएसँगै सुदूरपश्चिम प्रदेश सरकार गठनबारे चासो बढेको छ ।

प्रदेशसभाका प्रत्यक्षतर्फका ३२ सिटमध्ये परिणाम आउन बाँकी बाजुराका दुई क्षेत्र बाहेक ११ ठाउँमा जित्दै नेपाली कांग्रेस पहिलो दल बनेको छ भने ८ ठाउँमा जितेको नेकपा माओवादी केन्द्र दोस्रो दल बनेको छ । ५ क्षेत्र जितेको नागरिक उन्मुक्ति पार्टी तेस्रो, ३ क्षेत्र जितेको नेकपा एमाले चौथो र २ क्षेत्र जितेको नेकपा एकीकृत समाजवादी पाँचौं दल बनेको छ ।

डडेल्धुराको प्रदेशसभा (२) मा नेकपा एकीकृत समाजवादीबाट बागी उठेर स्वतन्त्र उम्मेदवारी दिएका ताराप्रसाद जोशी विजयी भएका छन् । उनलाई समाजवादी पार्टीले कारवाहीस्वरुप केन्द्रीय सदस्यबाट पदमुक्त गरिसकेको छ ।

समानुपातिकतर्फको मत गणना जारी छ । सात लाख ७८ हजार मतको गणना सकिदा नेकपा एमालेले सबैभन्दा धेरै दुई लाख ३३ हजार मत प्राप्त गर्दै पहिलो स्थानमा कायम छ । नेपाली कांग्रेस दुई लाख २६ हजार मतसहित दोस्रो, माओवादी केन्द्र एक लाख १३ हजार मतसहित तेस्रो र नागरिक उन्मुक्ति पार्टी ८७ हजार मतसहित चौथो स्थानमा देखिएको छ ।

५३ सदस्यीय प्रदेशसभामा समानुपातिकतर्फको मतपरिणाम नआउँदै प्रदेश सरकार गठनका लागि सत्तारुढ गठबन्धनको स्पष्ट बहुमत पुग्ने देखिएको छ । ३० क्षेत्रको नतिजाअनुसार गठबन्धनले २१ सिट जितेको छ । जबकी प्रदेश सरकार गठनका लागि २७ जना भए बहुमत पुग्छ । समानुपातिक तर्फको २१ सिटमा पनि गठबन्धनको बहुमत पुग्ने देखिएको छ ।

दलहरुबीच अहिलेकै गठबन्धनलाई निरन्तरता दिने गरी छलफल भइरहेकाले सुदूरपश्चिममा पनि गठबन्धन सरकार बन्ने सम्भावना बढ्दो छ । यहाँको प्रदेश सरकारको नेतृत्व कुन पार्टीले पाउँछ भागबण्डापछि मात्र थाहा हुनेछ । तर प्रदेश सरकारमा मुख्य दाबी भने नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको हुने नेताहरुले बताइरहेका छन् । दुवै दलमा आकांक्षी रहेका नेताहरु प्रदेशसभा सदस्यमा निर्वाचित भएसँगै मुख्यमन्त्रीका लागि कसरत थालेका छन् ।

को–को छन् मुख्यमन्त्रीको आकांक्षी ?

नेपाली कांग्रेसमा सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानून मन्त्री डा.रणबहादुर रावल, सामाजिक विकास मन्त्री गोविन्दराज बोहरासहितका पाँच जना मुख्यमन्त्रीका दाबेदार थिए । तर मुख्यमन्त्रीको दौडमा रहेका रावल कैलाली–१ को प्रदेशसभा(२) र बोहरा डडेल्धुराको प्रदेशसभा(२) बाट हारेसँगै यो दौडबाट बाहिरिएका छन् ।

अब कांग्रेसबाट कञ्चनपुर–२ को (२) बाट प्रदेशसभामा निर्वाचित बहादुरसिंह थापा, कञ्चनपुर–१ को (२) बाट निर्वाचित दिवानसिंह विष्ट र कैलाली–२ को (१) बाट निर्वाचित कमल शाह मुख्यमन्त्रीका प्रमुख दाबेदारका रुपमा देखिएका छन् । कैलाली–५ को प्रदेशसभा (२) बाट विजयी भएका प्रकाशबहादुर देउवालाई पनि मुख्यमन्त्री बनाउनुपर्ने स्वर कांग्रेसभित्र सुनिन थालेको छ । प्रकाश प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाका भतिजा हुन् । तर मुख्य दाबेदारका रुपमा रहेका थापा, विष्ट र शाह भन्दा धेरै जुनियर भएकाले अहिले नै मुख्यमन्त्री बनाउँदा पार्टीमा समस्या हुने अर्को थरी नेताहरु बताइरहेका छन् ।

मुख्यमन्त्रीका आकांक्षी मध्येका बहादुरसिंह थापाले अहिले गठबन्धन भएकाले शीर्ष तहका नेताहरुको छलफल र समझदारीअनुसार प्रदेश सरकारको नेतृत्व कसले गर्ने भन्ने कुरा टुंगिने बताए । तर कांग्रेसबाट निर्वाचित भएका प्रदेशसभा सदस्यहरुमा आफू सबैभन्दा सिनियर भएकाले मुख्यमन्त्रीमा प्रमुख दाबी रहनु स्वभाविक भएको उनको भनाइ छ । ‘अहिले अरु पार्टीसँग पनि गठबन्धन भएका कारण प्रदेश सरकारको नेतृत्व कसले गर्ने भन्ने कुरा नेताहरुबीच छलफल भएर तय हुने हो,’ थापाले अनलाइनखबरसँग भने, ‘हिस्सेदारी पनि होला । कांग्रेसको कुरा गर्दा सिनियर नेताका हिसाबले मुख्यमन्त्रीमा मेरो स्वभाविक दाबी हुन्छ ।’

थापा कांग्रेस कञ्चनपुरका सभापति हुन् । २०७४ को चुनावमा उनी नेकपा एमालेका लालबहादुर खड्कासँग प्रदेशसभामा पराजित भएका थिए ।

अर्का आकांक्षी दिवानसिंह विष्ट त पार्टी र गठबन्धनका शीर्ष नेताहरुसँगको समझदारीअनुसार नै प्रतिनिधिसभा माओवादीलाई छाडेर प्रदेशसभाको चुनाव लडेको बताउने गरेका छन् । ‘मेरो पार्टी र गठबन्धनमा आवद्ध शीर्ष नेताहरुसँगको समझदारीमै म प्रदेशसभाको चुनाव लडेको हुँ । त्यसो हुँदा मुख्यमन्त्रीमा मेरो स्वभाविक दाबी रहन्छ,’ विष्टले अनलाइनखबरसँग भने, ‘दुई–दुई पटक प्रतिनिधिसभा चुनाव लडेर सांसद भइसकेको मलाई उहाँहरुले समझदारीअनुसार जिम्मेवारी दिनुहुन्छ भन्ने विश्वास छ ।’

२०७० सालमा संविधानसभा सदस्य चुनावमा माओवादी केन्द्रकी बिना मगरलाई पराजित गरेका दिवानसिंह विष्ट पनि मुख्यमन्त्री बन्ने अभिलाषा राखेर नै प्रदेशसभाको चुनाव लडेका थिए । उनी २०७४ को चुनावमा भने मगरसँग पराजित भएका थिए ।

कैलाली–२ को १ बाट प्रदेशसभामा निर्वाचित कमल शाह आफू मुख्यमन्त्रीको प्रबल दाबेदार भएको बताउँछन् । ‘मैले चुनावदेखि नै सार्वजनिक रुपमा मुख्यमन्त्रीमा आफू दाबी रहने कुरा बताउदै आएको छु,’ शाहले भने, ‘प्रदेश सरकारको नेतृत्वका लागि म प्रबल दाबेदार हुँ ।’ शाहले संसदीय दलको नेता चयन लगायतका अन्य प्रक्रिया चल्दै गर्ने तर मुख्यमन्त्रीमा आफ्नो दाबी रहने बताएका छन् ।

कैलाली ५ को (२) बाट निर्वाचित प्रकाश देउवा आकांक्षी रहेको भनिए पनि उनी स्वयंले भने यो विषयमा खुलेर कुरा गर्न चाहेनन् । ‘मुख्यमन्त्री म हुन्छु हुँदैन भनेर हुने कुरा होइन,’ देउवाले अनलाइनखबरसँग भने, ‘पार्टीले संसदीय दलको नेता जसलाई छान्छ ऊ नै मुख्यमन्त्री हुन्छ । निर्वाचनको सबै परिणाम आएपछि त्यो कुरा अघि बढ्ला ।’

नेकपा माओवादी केन्द्रमा भने डडेल्धुराबाट निर्वाचित खगराज भट्ट निर्विकल्प मुख्यमन्त्रीको दाबेदार भएको नेताहरु बताउँछन् । हाल निर्वाचन जितेकामध्ये उनै सबैभन्दा सिनियर भएकाले भट्टलाई मुख्यमन्त्री बनाउने कुरामा दुई मत नभएको एक नेताले बताए । मुख्यमन्त्री बनाउने शर्तमा नै भट्टले डडेल्धुराको प्रतिनिधिसभामा शेरबहादुर देउवालाई छाडेको चर्चा पनि छ ।

भट्ट स्वयंले पनि गठबन्धनका नेताहरुबीचको सहमतिअनुसार आफू अगामी चुनावपछि प्रदेशको मुख्यमन्त्री बन्ने बताउँदै आएका थिए । प्रदेशको मुख्यमन्त्री दिने सहमतिपछि नै आफू प्रदेशसभाको चुनाव लड्न तयार भएको बताउने भट्टले चुनाव अघि अनलाइनखबरसँग भनेका थिए, ‘त्यो स्वाभाविक हो । हामी राम्रो मत प्राप्त गरेर गठबन्धनसहित चुनाव जित्छौं । सबै प्रकारले छलफल चलेको छ ।’

नेकपा एकीकृत समाजवादी पार्टीबाट भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका दीर्घबहादुर सोडारीले पनि मुख्यमन्त्रीमा आकांक्षा देखाएका छन् । उनी कैलाली–४ को प्रदेशसभा(१) बाट पुनः निर्वाचित भएका छन् ।

तर सत्तारुढ गठबन्धनमा केन्द्रदेखि प्रदेशसम्म के–कसरी भागबण्डा मिल्छ भन्ने कुरामा सुदूरपश्चिम सरकारको अगामी नेतृत्व कसले पाउँछ, भन्ने कुरा टुंगोमा पुग्नेछ । अहिलेको गठबन्धनले निरन्तरता नपाएको अवस्थामा भने यहाँ पनि छुट्टै समीकरण बन्नेछ तर अहिले त्यो सम्भावना नरहेको नेताहरुको दाबी छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?