काठमाडौं। त्रिभुवन विश्वविद्यालयले आगामी चैत्र ५ गते तय गरेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा विश्व हिन्दु युवा संघ नेपालले पनि विद्यार्थी संगठनको तर्फबाट स्ववियुको निर्वाचन लड्ने घोषणा गरेको छ।
आज काठमाडौंमा भएको एक कार्यक्रममा विश्व हिन्दु युवा संघ नेपालका केन्द्रीय अध्यक्ष ऋषिकेश जंग शाहले त्रिभुवन विश्व विद्यालयले चैत्र ५ गते गर्ने स्ववियु निर्वाचनमा विश्व हिन्दु विद्यार्थी संगठनले पनि विश्व विद्यालय लगायत देशभरका आङ्गिक क्याम्पस उम्मेदवारी दिने खुलासा गर्नुभएको हो।
उहाँले भन्नुभयो -” निर्वाचन पश्चात देश कुन दिशामा गईरहेको छ भन्ने थाहा हुँदा हुँदै पनि हामी चुप लागेर बस्ने अवस्था छैन। हामिले संगठन विस्तार गर्दै राज्यका विभिन्न क्षेत्रमा भातृसंगठनहरु पनि बनाएका छौ। अबको केही समयपछि विश्व विद्यालयले निर्वाचनको तयारी गरेको छ , हामी हाम्रो विद्यार्थी संगठनलाई चलायमान, गतिशील बनाउन र विश्व हिन्दु युवा संघ नेपालको पनि दरिलो उपस्थिती छ भन्ने देखाउन चाहान्छौ”।
देशको राजनितीलाई युवा विद्यार्थीले नै हाक्न सक्ने कुरामा विश्वास राख्दै उहाँले भावी देशको नेतृत्व विश्व हिन्दु युवा विद्यार्थी संघले गर्ने सम्भावना बढ्दै गएको जिकिर गर्नुभयो। त्यसैले समाजको विभिन्न क्षेत्रमा योगदान पुर्याउनु भएका व्यक्तिहरुसंग कुराकानी, छलफल र परामर्श गरिरहेको पनि अध्यक्ष शाहले जानकारी दिनुभयो।












