२५ फागुनमा राष्ट्रपति र ३ चैतमा उपराष्ट्रपतिको निर्वाचन

आयोग पदाधिकारीमा मतभेदबीच निर्वाचन मिति तय, मतदानको समय र निर्वाचन कार्यतालिका पनि सार्वजनिक

निर्वाचन आयोगका पदाधिकारीबीच मतभेद भएपछि बहुमत–अल्पमतका आधारमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मिति तय भएको छ । ०७२ मा संविधान जारीपछिको दोस्रो कार्यकालका लागि राष्ट्रपति चयन गर्न आयोगले २५ फागुनको र उपराष्ट्रपतिका लागि ३ चैतको मिति तोकेको छ ।

संविधानअनुसार वा राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐनअनुसार निर्वाचत मिति तोक्ने भन्ने विषयमा आयोग पदाधिकारीबीच मतभेद देखिएको थियो । आयोगले निर्वाचित भएदेखि पदावधि पाँच वर्ष हुने संविधानको धारा ६३ (१) को प्रावधानमा उल्लेख भएअनुसार निर्वाचन गर्ने निर्णय लिएको छ, जब कि ऐनले कार्यकाल पूरा हुनु एक महिनाअगावै निर्वाचन गर्नुपर्ने व्यवस्था गरेको छ ।

वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी २९ फागुन ०७४ मा राष्ट्रपति चुनिएकी थिइन् । उनको कार्यकाल आउँदो २९ फागुनमा सकिँदै छ । उनको कार्यकाल सकिनु चार दिनअघि निर्वाचन गर्ने गरी आयोगले नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन मिति तोकेको हो । आयोगले संवैधानिक स्पिरिटमै उपराष्ट्रपतिको निर्वाचन ३ चैतमा तोकेको छ । वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन ४ चैत ०७४ मा उपराष्ट्रपति चुनिएका थिए । उनको कार्यकाल ३ चैतसम्म छ ।

प्रमुख आयुक्त थपलियासहित आयुक्तहरू रामप्रसाद भण्डारी, जानकीकुमारी तुलाधर र सगुनशमशेर जबराले बहुमतबाट गरेको निर्णयमा आयुक्त ईश्वरीप्रसाद पौड्यालले फरक मत राखेका छन् । पौड्याल ऐनअनुसार मिति तोक्नुपर्ने पक्षमा थिए । ऐनको दफा ४ (१) मा उल्लिखित राष्ट्रपतिको पदावधि सकिनुभन्दा कम्तीमा एक महिनाअघि निर्वाचन गर्नुपर्ने व्यवस्थाअनुसार २८ माघभित्र निर्वाचन भइसक्नुपथ्र्याे । संविधानले पाँचै वर्ष कार्यकाल भनेर एउटा मात्र राष्ट्रपति परिकल्पना गरेको, तर ऐनले महिना दिनअगावै चुनाव गरेर दुई राष्ट्रपति हुने अवस्था सिर्जना गरिदिँदा अन्योलमा परेको आयोगले प्रधानमन्त्री, महान्यायाधिवक्ता, कानुनसचिव र गृहसचिवसँग परामर्श गरेर संविधानकै स्पिरिटमा मिति तोकेको हो । प्रमुख आयुक्त दिनेश थपलियाले ऐन र संविधानबीच अन्तरविरोध विषय विगतमा हरेक प्रधानमन्त्रीसँग उठाउँदै आए पनि सुनुवाइ नभएको उल्लेख गर्दै सबैको समन्वयमा संविधानअनुसार मिति तोकिएको बताए ।

पौड्यालले २५ फागुन र ३ चैतमा मिति तोक्नु कानुनको उल्लंघन भएको जिकिर गरेका छन् । ‘वर्तमान राष्ट्रपतिको पदावधि २८ फागुनमा र उपराष्ट्रपतिको ३ चैतमा सकिनु महिना दिनअघि निर्वाचन सम्पन्न गर्नुपर्ने कानुनी प्रावधानको पालना नगरी फागुन २५ र ३ चैतमा मिति तोक्ने र निर्वाचन कार्यक्रम प्रकाशन गर्ने निर्णय प्रचलित ऐनको प्रतिकूल छ,’ उनले भनेका छन् । यो निर्णय कानुनविपरीत भएकाले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐनको दफा ४ र ५ संशोधन गरेर मात्र मिति तोक्न माग गर्दै उनले फरक मत राखेका हुन् ।

आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यक्रममा १० फागुनमा मतदाता नामावली प्रकाशन गर्ने, दुई दिन सच्याउन समय दिने, १२ फागुनमा अन्तिम मतदाता नामावली प्रकाशन गर्ने उल्लेख छ ।

राष्ट्रपति निर्वाचनका लागि १३ फागुनमा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने, १६ फागुनमा अन्तिम नामावली प्रकाशन गर्ने र २५ फागुनको बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदानको कार्यक्रम तोकिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

निर्वाचन कार्यक्रम अघि बढाउन आयोगले नयाँ बानेश्वरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना र उच्च अदालतका न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तोक्ने तयारी गरेको छ । निर्वाचनलाई पुग्ने गरी सबै सामग्री रहेको प्रवक्ता पौडेलले बताए ।

राष्ट्रिय सभा उपनिर्वाचनको तयारी पूरा
राष्ट्रपति निर्वाचनमा मतदाता हुने राष्ट्रिय सभा सदस्यको रिक्त एक सिटका लागि २५ माघमा हुने उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । आयोगका प्रवक्ता पौडेलले लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय सभा सदस्यको रिक्त पदका लागि उपनिर्वाचनको सबै तयारी पूरा भएको र घोराही उपमहानगर– १५ स्थित कर्मचारी मिलन केन्द्रमा बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदान हुने जानकारी दिए । राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता हुन्छन् । जनसंख्याको आधारमा मतभार तोकिएको छ । ०६८ को जनगणनाअनुसार प्रदेश सभा सदस्यको मतभार ४८ र स्थानीय तहका जनप्रतिनिधिको मतभार १८ कायम छ । लुम्बिनी प्रदेशमा ८७ जना प्रदेश सभा सदस्य र पालिकाका प्रमुख, अध्यक्ष, उपप्रमुख र उपाध्यक्ष दुई सय १८ जना छन् ।

यस हिसाबमा प्रदेश सभाको मतभार चार हजार १७६ हुन आउँछ । २१८ जनप्रतिनिधिको मतभार तीन हजार ९२४ हुन आउँछ । दुवै जोड्दा लुम्बिनी प्रदेशमा कुल आठ हजार एक सय मत हुन आउँछ । लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने रिक्त पदमा एमालेले कुमार दसौँदी, कांग्रेसले माधवप्रसाद आचार्य र नागरिक उन्मुक्ति पार्टीले राजेन्द्रवीर रायलाई उम्मेदवार बनाएको छ । एमालेका खिमलाल भट्टराईले राजीनामा दिएपछि लुम्बिनीबाट प्रतिनिधित्व हुने राष्ट्रिय सभाको एक सिट खाली छ ।

यस्तो छ निर्वाचन कार्यक्रम
– मतदाता नामावली : १० फागुनमा मतदाता नामावली प्रकाशन गर्ने, दुई दिन सच्याउन समय दिने र १२ फागुनमा अन्तिम मतदाता नामावली प्रकाशन गर्ने
– राष्ट्रपति निर्वाचन : १३ फागुनमा उम्मेदवारको मनोनयनपत्र दर्ता, १६ फागुनमा अन्तिम नामावली प्रकाशन र २५ फागुनमा बिहान १०–३ बजेसम्म मतदान
– उपराष्ट्रपति निर्वाचन : २७ फागुनमा उम्मेदवारी दर्ता, २८ फागुनमा अन्तिम नामावली प्रकाशन र ३ चैतमा १० देखि ३ बजेसम्म मतदान
यसरी चुनिन्छन् राष्ट्रपति
राष्ट्रपतिको निर्वाचनमा संघीय संसद्का ३३४ र प्रदेश सभाका ५५० मतदाता  हुन्छन् । संघीय सांसदको एक मतको मतभार ७९ र प्रदेश सभा सदस्यको एक मतको मतभार ४८ छ । दुवै जोड्दा ५२ हजार ७८६ मतभार छ । कुल मतको ५० प्रतिशत कटाउने व्यक्ति राष्ट्रपति निर्वाचित हुने व्यवस्था छ । कुनै उम्मेदवारले ५० प्रतिशत नकटाएमा सबैभन्दा बढी मत प्राप्त गर्ने दुई उम्मेदवारबीच पुनः मतदान हुनेछ ।
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?