back to top
१८ बैशाख २०८१, मङ्लबार
IPL 2024
IPL 2024
१८ बैशाख २०८१, मङ्लबार
IPL 2024
spot_img

बिद्यार्थी संगठन र बिद्यार्थी

Workplace

बर्तमान अवस्थामा सम्पूर्ण आर्थिक क्षेत्र भित्र भइरहेको गतिविधिहरुले राज्यलाई नै राज्यविहिन दिशातर्फ धकेलिरहेछन् । यो परिस्थितिलाई नसम्हाल्ने हो भने कसैले पनि कुनै पनि क्षेत्रमा केही गर्छु भनेर नसोचे हुन्छ । देश आर्थिक रुपमा जर्जर छ, विकासका कामबाट हुनुपर्ने आर्थिक विकास हुन सकेका छैनन् । जुनसुकै कोणबाट हेर्दा पनि देशको आर्थिक र सामाजिक विकास ठप्प पारिएका छन् देशले धान्नै नसक्ने वा अप्राकृतिक माग र हडतालका आधारमा । हडतालका पनि प्रक्रिया हुन्छन् तर प्रक्रियाको वास्ता कसले गर्ने ? जसको मनमा जे आयो त्यही गर्न छुट भिडलाई कसले नियन्त्रण गर्ने ।

Workplace

शिक्षा क्षेत्र पनि यसबाट अछुतो रहन सकेन र शिक्षित कहलाईएका उच्च शिक्षाका विद्यार्थी र शिक्षकबाट समेत सोही हर्कत गरिनु कुनै पनि कोणबाट न्यायसंगत मान्न सकिन्न ।

अहिले फेरी विद्यार्थी संगठनको त्रिविमा चुनाव हुने चर्चा चलेको छ र त्यसमा कसलाई उम्मेदवार बनाउने भन्ने कुरा प्रत्येक राजनैतिक दलको चासोको विषय बनेको छ । उच्च शिक्षा तहस नहस हुनुमा एउटा प्रमुख कारण यही हो भन्दा फरक पर्दैन । जवसम्म राजनैतिक दलहरुले आफ्नो रिमोट कन्ट्रोलबाट विद्यार्थी नेता नचाई रहन्छन् तवसम्म नेपालमा शिक्षा विकास सम्भव छैन, यो विगत ६ दशकको अनुभव हो नेपाली जनताको । के हो विद्यार्थी संगठन भनेको ? के काम गर्नुपर्ने हो त्यस्ता संगठनले ? एक जमाना यस्तो थियो जुनबेला विद्यार्थीहरु संगठित भएर एकतन्त्र विरुद्ध उभिनु पर्ने थियो । त्यतिखेर खुला राजनैतिक माहौल नभएकाले अहिलेको जस्तो राजनैतिक गतिविधि र त्यसमा लागिपर्ने कार्यकर्ताको खडेरी नै थियो । भित्र भित्रै संगठित भएर विद्यार्थीहरुले गरेको योगदानकै कारण २०३६ सालको जनमत संग्रह र २०४६ सालको नेपालको दोस्रो प्रजातन्त्र सम्भव भएको हो भन्ने कुरामा कुनै शंका छैन । त्यसको जस विद्यार्थी संगठनहरुलाई जान्छ र जानु पनि पर्छ । अहिले त प्रायः राजनैतिक दलका आ–आफ्नै राजनैतिक संगठन छन् । जहाँ विद्यार्थीको भन्दा राजनैतिक कार्यकर्ताको बढी संख्या विद्यमान छ । यस्तो अवस्थामा पनि विद्यार्थी संगठनहरु राजनैतिक दलका भरिया भइरहने स्थिति लाजमर्दो हो र यसको विकल्प उनीहरुले खोज्नै पर्ने हुन्छ ।

विद्यार्थीले क्याम्पस वा विश्वविद्यालयबाट खोज्ने कुरा के ? नियमित र गुणस्तरीय पठन पाठन, नियमित मूल्यांकन, समयमै नतिजा प्रकाशन, “पठन पाठन र कार्यबजार बीच समन्वय” र डिग्री पाउनासाथ रोजगारीको अवसर । यो भन्दा अरु “हक“ उनिहरुको केही हुन सक्दैन र यो भन्दा वाहेकको परिस्थितिमा उनीहरुको “हित“ पनि संरक्षण हुँदैन । यदि साच्चै विद्यार्थीहरुले यो “हकहित” लाई आत्मसात गर्ने हो र आफ्नो भविष्य उज्ज्वल वनाउने हो भने उनीहरुले गर्नुपर्ने थुप्रै कामहरु छन् संगठित रुपमा । यस अर्थमा अझै पनि विद्यार्थी संगठनहरुको औचित्य समाप्त भएको मानिने छैन । कक्षा नियमित हुन्छ कि हुँदैन ? शिक्षकहरु नियमित र तोकिएको समयमा कक्षामा प्रवेश गर्छन कि गर्दैनन् ? शिक्षकहरुले पुरा समय पढाउँछन् कि पढाउँदैनन् ? विद्यार्थीहरुलाई समस्या परेको बेला शिक्षकहरुले समय दिन्छन कि दिदैनन् ? पुस्तकालयमा यथेष्ट रुपमा नयाँ नयाँ संस्करणका पुस्तकहरु छन् कि छैनन् ? कम्प्यूटर प्रयोगशाला र इन्टरनेटको व्यवस्था छ कि छैन ? विज्ञान प्रयोगशालामा उपकरण र रसायनहरु उपलब्ध छन् कि छैनन ? आफुले लिदै गरेको शिक्षा विश्ववजारमा कतिको काम लाग्ने छ ? जस्ता महत्वपूर्ण प्रश्नहरुमा केन्द्रित रही आपूm र आफ्ना सहपाठीको भविष्य उज्ज्वल वनाउन जुट्नु पर्ने विद्यार्थी संगठन आज राजनैतिक विचारका आधारमा फुटेका छन् । आ–आफ्नो माग भनेर यीनै भ्रातृसंगठनहरुको “गैर शैक्षिक” गतिविधिका कारण लाखौं विद्यार्थीको भविष्य अन्धकारतर्फ धकेलिएको छ । यस्तो अवस्थामा न त नियमित पठन पाठनको प्रश्न उठाउन सकिन्छ न त विद्यार्थीको भविष्यनै उज्ज्वल बनाउन सकिन्छ ।

यी भ्रातृसंगठनहरु वनाउने र तिनलाई उक्साउने काममा प्रविण हाम्रा राजनैतिक दलहरुले शैक्षिक संस्थामा नियुक्त हुने पदाधिकारीहरुको समेत भागवण्डा राजनीति गरेर झन् आगोमा घिउ थप्ने काम गरेका छन् । त्यस्तै विद्यार्थीको दुरुपयोग गरी शैक्षिक संस्थाहरुमा चन्दा आतंक मच्चाउने काम पनि राजनैतिक दलहरुले गर्दै आएका छन् । आज प्रत्येक कलेज, क्याम्पस र विश्वविद्यालयहरु चन्दा रसिद बुझ्न र तीनको भुक्तानी गर्न वाध्य वनाईएका छन,धम्की र त्रासको भरमा । यसरी विद्यार्थी संगठनहरु सर्वत्र आलोचनाको पात्र भएका छन् । विद्यार्थीलाई पढ्नबाट वञ्चित गरेर आफ्नो भारी बोकाउने काम राजनैतिक दलहरुको लागि सुहाउने काम पटक्कै होइन । यसबाट उनीहरुले कलिला मष्तिष्कका युवाहरुको भविष्यको खिल्ली उडाएका छन् । आफुले त्यस्तै राजनीति गरेर माथिल्लो तहसम्म पुगेको उदाहरण दिदै नयाँ पुस्ताको भविष्य माथि खेलवाड गर्ने अधिकार राजनैतिक दलहरुसँग हुनु हुँदैन र छैन पनि । यसको प्रत्यक्ष प्रमाण हो शैक्षिक संस्थामा हुने अराजकता र त्यसमा साथ दिने “खाटी कार्यकर्ता” ।

विश्ववजारमा नयाँ नयाँ ज्ञान विकिरहंदा हाम्रो पुस्तक पसलहरुमा पुराना नोट र प्रश्नपत्रको फोटोकपी विक्रि हुन्छ । सूचना र संचारको एक्काइसौं सताब्दीमा विश्वका विद्यार्थी रमाउँदा हाम्रा विद्यार्थी शिक्षकले लेखाएका नोट कण्ठ गर्न मै व्यस्त वनाइन्छन् । आफु सरहका विश्वका सहपाठीहरु उतिनै योग्यताका आधारमा कुनै कम्पनीको मालिक भइसक्दा आफु भने सदरमुकामको अफिसहरुमा जागीर खोज्न वाध्य वनाइन्छन् । अन्यत्र पढ्ने आफ्ना साथीहरु पढाई सकी कार्यबजारमा विकिसक्दा आफु भने परीक्षाको मिति घोषणाको वा परीक्षाफलको नतिजा कुर्नुपर्ने वाध्यता भित्र अल्झेका विद्यार्थीको वास्तविकता बुझ्ने कसले रु अभिभावकको खर्चमा येनकेन पढाई गर्नुपर्ने र आंशिक समय पनि काम नपाइने हाम्रो परिस्थितिमा “दुइ वर्षको पढाइ पाँच वर्षसम्म” लगाउनु पर्दा त्यसको क्षतिपूर्ति कसले व्यहोर्ने ? वाकसभरी प्रमाणपत्र थुपारेर माथिल्लो डिग्री गरिसक्दा पनि रहरले एक कप चिया पिउन पैसा नभएका हाम्रा विद्यार्थीको पीडा बुझु्ने कसले ?

राजनीतिक दलको बुई चढेर यही मूलमर्म माथि प्रहार गर्ने काम विद्यार्थी संगठनहरुले तुरुन्त रोक्नु पर्छ । आजैका मितिबाट उनीहरुले राज्यभर सञ्चालन हुने विश्वविद्यालयको क्यालेण्डर प्रणाली चुस्त वनाउन र उपयोगमा ल्याउन मात्रै पनि दवाव दिन सके भने वल्ल विद्यार्थी संगठनको औचित्य पुष्टी होला । जुनवेला पायो त्यही बेला भर्ना गर्न, परीक्षाको प्रवेशपत्र फाराम समयमा नभर्न, परीक्षाको मिति सार्न जस्ता क्यालेण्डर ध्वस्त हुने नकारात्मक क्रियाकलापहरुमानै प्रवृत्त भइरहने हो र त्यसैलाई आर्थिक उपार्जनको माध्यम वनाईरहने हो भने विद्यार्थी संगठनहरुको औचित्य माथि प्रश्न उठाउन सकिन्छ । यसको सट्टा वरु विश्वविद्यालय र यस अन्तर्गतका कलेजहरुमा पठन पाठनको स्तर तोक्न, सक्षम गुरुहरुको नियुक्ती गर्न, पूर्णकालीन गुरुहरुलाई पूर्ण समय काममा लाग्न, अन्यत्र जिल्लाबाट आएका साथीहरुको लागि छात्रावासको व्यवस्था गर्न, पढाईका अतिरिक्त मनोरञ्जन र खेलकुदका कार्यक्रम नियमित गर्न, कुनै पनि वहानामा हुने वन्द र हडतालको प्रभाव शिक्षामा पर्न नदिन जस्ता सकारात्मक कामहरुमा विद्यार्थी संगठनहरुले कसरत गर्ने हो भने उनीहरुको औचित्यमाथि प्रश्न उठाउनु कूनैपनि हालतमा युक्तिसंगत हुंदैन ।

कमल घिमिरे अर्घाखाँची

Workplace
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (17%)
  • दुःखी (58%)
  • अचम्मित (8%)
  • हाँस्यास्पद (17%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जालमा हामी

भर्खरै

छुटाउनुभयो कि ?