काठमाडाैं । सरकारले पेट्रोल, डिजेल, मट्टीतेलको भाउ बढाएको छ भने खाना पकाउने ग्यासको घटाएको छ।
मंगलबार राति १२ बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको र ग्यासको घटाएको हो।
निगमले मंगलबार एक विज्ञप्ति जारी गरी पेट्रोल लिटरमा ९ रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा ७ रूपैयाँ बढाएको जानकारी दिएको छ। त्यस्तै खाना पकाउने ग्यासको भाउ सिलिन्डरमा १३० रूपैयाँ घटाएको छ।
भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो। निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर साढे आठ रूपैयाँ र डिजेलमा सात रूपैयाँ बढाएर नयाँ मूल्य सूची पठाएको छ। ग्यासमा भने प्रतिसिलिन्डर १०० रूपैयाँ घटाएर पठाएको छ।
निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ। निगमले पेट्रोलियम पदार्थको भाउका लागि तीन वर्ग विभाजन गरेको छ।













