के हुन्छ…?!
संगै सुत्ने श्रीमतीले
‘म तपाइँ बाट असुरक्षित छु’ भनिन् भने ?!
के हुन्छ…?!
निधारमा टिका टाँसिदिंदा टाँसिदिंदै बैनीले
दाजुको अनुहारमा कंश देखिन्
र
अत्तालिएर गुहार मागिन् भने ?!
के हुन्छ…?!
रातो गुलाबको फूल भित्र प्रेमिकाले
वीर्यको गन्ध पाइन् भने ?!
के हुन्छ…?!
दूध चुसाइरहेकी आमाले
नाबालिकाको घाँटीमा हात पुर्याउँदै
भनिन् भने-
‘आखिर..
टोकिएर,ठोक्किएर
लुछिएर,कुल्चिएर
च्यातिएर,च्याँपिएर
मक्किएर,भत्किएर
शोषित भएर,बलात्कृत भएर…,
एक दिन तँलाई
तड्पी तड्पी मर्नु नै छ भने छोरी,
म किन नदबाऊँ तेरो गला अहिले नै प्रेमपूर्वक’ ?!
के हुन्छ..?!
आमाहरूको गला
आमाकै हात बाट दब्न थाल्यो भने ?!
प्रिय पुरुष मित्र,
तिम्रो अंगको उत्तेजना थोरै घटाइदेऊ न है !
जगतमा थोरै विस्वास बढाइदेऊ न है !
✍️ हेमन्त गिरी,टोकियो












