काठमाडौं । पश्चिम नेपालका केही ठाउँमा वर्षा भएको छ ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा वर्षा भएको हो । पश्चिमी वायुको प्रभावका कारण पश्चिम नेपालमा मौसम बदली भई वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो पनि सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली भई केही ठाउँमा वर्षा र उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ ।
पश्चिम नेपालको मौसम सोमबारसम्म बदली हुने सम्भावना रहेको छ । आइतबार वर्षा र हिमपातको सम्भावना रहेको र सोमबार उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको पूर्वानुमान मौसमविद्को छ ।













