के हो वेदोक्त शिवोपासन ?

आचार्य पूजक बास्कोटा/चितवन
शिवको अर्थ कल्याण हो । कल्याण स्वरूप हुनुभएकाले परमात्मालार्इ शिव भनिएको हो । कल्याणको अर्थ हो सुख । सुख सबै प्राणीको चाहनाको विषय हो । कीट-पतङ्ग, पशुपक्षी, देव, गन्धर्व, असुर सबैले सुख चाहन्छन् । यस अर्थमा सम्पूर्ण प्राणीहरूले जानेर होस् या नजानेर शिवलाइ नै चाहन्छन् ।

वेदले भन्छ-‘स्वपद्भ्यो जाग्रद्भ्यश्चवो नमोनमः शयानेभ्यऽआसीनेभ्यश्च०’ जाग्रत् स्वप्न सुषुप्ति तीनै अवस्थाका सकल प्राणी शिवका स्वरूप हुन् । शिवको सर्वव्यापकता र अद्वितीयता उपनिषद् मन्त्रहरूले बताउँछन् । ‘शान्तं शिवमद्वैतम्’, ‘एको हि रुद्रो न द्वितीयाय तस्थुः’ इत्यादि वाक्यको व्याख्यामा अहिले नजाऔँ, अध्येतालाइ केवल सङ्केत काफी छ ।
अब कुरा गरौँ, आफ्नै शिवपूजनको ।
हामी रुद्री पढ्छौँ । त्यहाँ मन्त्र आउँछ – नमोऽस्तु नीलग्रीवाय सहस्रक्षाय मीढुषे । अथो ये अस्य सत्त्वानोहन्तेभ्यो-करन्नमः ॥ नीलो घाँटी भएका, हजारौँ आँखा भएका, भक्त उपर कृपा बर्साउने हजुरलाई नमस्कार छ । (सम्पूर्ण प्राणीहरूको आँखाहरू शिवकै आँखा हुन् ,त्यसैले शिवलाई सहस्राक्ष भनिएको हो ।)

अब शिवको भक्तले अरू देवी-देवताको दर्शन गर्ने कि नगर्ने, नमस्कार गर्ने कि नगर्ने भन्ने सन्दर्भतर्फ लागौँ । उपासना त एउटाको गर्ने हो । अनेक स्वरूप, अनेक देव-देवीको पछि लागेर न त पार पाइन्छ, न त आफ्नो इष्टप्रति दृढ भक्ति नै रहन्छ । आफ्नो इष्टदेवको स्वरूप मात्रै चिन्तन गर्नुपर्छ, नमन गर्नुपर्छ, यही अनन्यनिष्ठा हो भन्ने केहीले ठान्दछन् । तर यो वैदिक उपासना विधि होइन । मन्त्र भन्दछ –
अथो ये अस्य सत्त्वानोहन्तेभ्यो-करन्नमः ॥ अथ, अस्य-शिवजीको, ये सत्त्वानः-जति पनि स्वरूपहरू छन्, अहम्-मैले, तेभ्यः-शिवका विभिन्न स्वरूपलाई, नमः अकरवम्-नमस्कार गरिसकेँ ।

जब भगवान् शिव डमरु, त्रिशूल लिएर आउनुहुन्छ, त्यतिबेला मात्रै नमस्कार गर्ने अनि जब शिवजी नै बाँसुरी हातमा लिर्इ कृष्ण स्वरूपमा, काँधमा धनुष राखी राम स्वरूपमा, देवी सूर्य नारायण आदि स्वरूपमा आउँनुहुन्छ, त्यतिखेर चाहिँ पीठ फर्काएर आँखा तर्काएर हिँड्ने व्यक्ति कसरी शिवोपासक हुन सक्छ र ! शिवोपासकले शिवस्वरूपलाई नमस्कार गर्दा-गर्दै शिवका अन्य स्वरूपभेदलाई पनि नमस्कार गरिसक्छ । हाम्रो वैदिक शिवोपासना यही हो ।

हामीले यही पढ्यौँ, जान्यौँ, मान्यौँ, मान्छौँ र सिकाउँछौ पनि । हिड्दै जाँदा शिव, विष्णु, देवी, सूर्य, गणेश जुनसुकै विग्रहको मन्दिर आइपुग्दा पनि उत्तिकै श्रद्धाले शिर निहुरिन्छ ।
अँ, तिमी त गङ्गा गए गङ्गादास जमुना गए जमुनादास रैछौ, जता पनि ठिक्क, तिमीलार्इ कसैले पनि पार लगाउँदैन भन्नुहोला –

हामी पञ्चदेवोपासना पद्धतिका समुपासक हौँ । पञ्चदेवोपासना भनौँ या अभेदोपासना अथवा अनन्य वेदोक्त उपासना भनौँ, कुरा त्यही हो । आचार्य शङ्करले त्यसै पञ्चदेवोपासना पद्धति प्रतिष्ठापित गर्नुभएको होइन । पक्कै पनि कालान्तरमा (हाम्रा जीवनमा/समाजमा) आइपर्ने आपसी कलह, मतभेद र द्वेषले धर्ममा आइपर्ने क्षतिलाई रोक्न नै आचार्य शङ्करले पञ्चदेवोपासना/अभेदोपासनाको पद्धति स्थापित गर्नुभएको हो । शिव, विष्णु, सूर्य, देवी र गणेशको पाञ्चायन पूजोपासना पद्धतिले नै हाम्रो नेपाली समाज र यहाँका वेदोक्त सनातन धर्मानुयायीहरूलाई जोगाएको हो । होइन भने ‘तेरा भगवान् ठुला कि मेरा भगवान् ठुला’ भन्ने विवादले आपसमा लडेरै वैदिक धर्मका अनुयायीहरू लुप्त भैसक्थे । यो परिप्रेक्ष्यमा आजसम्म नेपाली समाज र यहाँका सनातनीहरूलाई जोगाएर यहाँसम्म ल्याइपुर्याउने श्रेय पूर्णतः आचार्य शङ्करलार्इ जान्छ ।

हिजोआज आफ्नै परिवारका सदस्यहरूको भनाभन, पक्ष-प्रतिपक्ष र वादविवाद सुनिन थाल्नु दुःखद छ । सामाधान भनौँ या यो रोगको औषधि आचार्य शङ्करले पहिल्यै दिनुभएको छ । बस् हामीले त आचार्यका वचनलाई दोहोराइदिए मात्रै पुग्छ ।

– आचार्य पूजक: संस्कृतस्य महेश संस्कृत गुरुकुलम् ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?