कायेन, वाचा, मनसा संस्कृत तथा नेपाली भाषा वाङ्मयको समुन्नयनमा पूर्णतः समर्पित प्रा. डा. वेणीमाधव ढकालको यही मिति २०८१ वैशाख १८ गतेका दिन असामयिक भएको देहावसानबाट नेपाली तथा संस्कृत वाङ्मयका सम्पूर्ण विद्वज्जगत्ले आफ्नो महत्त्वपूर्ण अभिभावक गुमाएको अनुभव गरेको छ। प्रज्ञा र प्रतिभा दुवैका समष्टि ढकालले नेपाली भाषावाङ्मयको आध्यात्मिक क्षेत्रमा अतुलनीय योगदान पुन्याउनु भएको थियो । संस्कृत, नेपाली र हिन्दी भाषामा समान गतिले लेखनी दौडाउन सक्ने ढकाल कवि, नाटककार, अनुवादक, व्याख्याता, अनुसन्धाता, टीकाकार, सम्पादक, समीक्षक, प्रशासक , कुशल वक्ता, निर्देशक आदि विविध व्यक्तित्त्वले परिपूर्ण बहुमुखी प्रतिभाका रूपमा लब्धप्रतिष्ठित हुनुहुन्थ्यो । ब्रह्मलीन ढकालको वैदूष्यको प्रशंसा गर्दै ब्रह्मलीन स्वामी प्रा.डा. प्रपन्नाचार्यले ‘लिच्छविकालिक अभिलेखहरूको साहित्यिक अनुशीलन’ शोधग्रन्थको अग्रभागमा रहेको शुभसम्मतिमा यसप्रकार लेख्नु भएको पाइन्छ :
” वैदुष्यप्रोज्ज्वलां वीक्ष्य वेणीमाधवसत्कृतिम् ।
प्रपन्नवीक्षणो देवो माधवः परितुष्यतु।”
अर्थात् वैदुष्यले प्रोज्ज्वल वेणीमाधवद्वारा लिखित सत्कृतिलाई देखेर भगवान् माधव प्रसन्न हुनु हुनेछ। विद्वद्वरेण्य प्रपन्नाचार्यद्वारा समेत प्रशंसित ढकालको विद्वत्ता साँच्चै अपरिमेय र अतुलनीय देखिन्छ।
माता दिव्यलक्ष्मी ढकाल र पिता चूडामणि ढकालका पुत्ररत्नका रुपमा वि.सं. २००४ साल पौष ११ गते (वास्तविक जन्ममिति)(कार्यालयीय – २००६/०९/२६गते) पाल्पा जिल्लाको पोरकनी ठिमुरेमा वेणीमाधव ढकालको जन्म भएको थियो । विद्वद्वंशमा जन्मिनुभएका ढकाल सानैदेखि अत्यन्त तीक्ष्णबुद्धि भएका व्यक्तिका रूपमा चिनिनु भएको थियो । घरपरिवारबाटै प्रारम्भिक शिक्षा प्रारम्भ गर्नुभएका, ऋषिकेश क्षेत्र, रिडीमा गुरुकुलीय शिक्षा ग्रहण गर्नुभएका र पछि सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय वाराणसीबाट संस्कृत विषयमा साहित्याचार्य र दर्शनाचार्यको उपाधि ग्रहण गर्नुभएका नेपाल संस्कृत विश्वविद्यालय, अनुसन्धान केन्द्र मार्फत “लिच्छविकालिकानामभिलेखानां साहित्यिकमनुशीलनम्” शीर्षक मा विद्वत्तापूर्ण शोधप्रबन्ध तयार पारी वि.सं. २०४९ बाट विद्यावारिधि उपाधिद्वारा विभूषित हुनु भएको थियो।
सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय अन्तर्गत ´बाबा कालीकमली संस्कृत महाविद्यालय`, ऋषिकेश उत्तराञ्चल, भारतमै वि.सं. २०३० देखि २०३२ सम्म साहित्य विभागाध्यक्षको जिम्मेवारी बहन गर्नुभएका ढकाल मातृभूमिको सेवा गर्ने पवित्र उद्देश्यका साथ भारतमा प्राप्त सम्पूर्ण पदप्रतिष्ठा परित्याग गरी स्वदेश नेपाल फर्किनुभएको र वि.सं- २०३३ देखि २०३४ सम्म नेपाल सरकारको अनुसन्धान अधिकृतको पदमा रही सेवा प्रारम्भ गर्नु भएको देखिन्छ । पश्चात् अनुसन्धान अधिकृतको पदसमेत परित्याग गर्दै वि.सं.२०३४ भाद्र १ देखि त्रि. वि. संस्कृत अध्ययन संस्थान अन्तर्गत वाल्मीकि विद्यापीठमा सहायक प्राध्यापकका रूपमा प्रवेश गरी प्राध्यापन पेसामा संलग्न हुनुभएको उहाँ २०३७ मा उपप्राध्यापक, २०४७ मा सहप्राध्यापक र २०५४ मा प्राध्यापक बन्न सफल हुनुभएको थियो ।
नेपाली साहित्यमा वि.सं. २०३० सालमा ‘शैलेश’ खण्डकाव्य र २०३१ सालमा ‘जय ज्योतिष्मती मुमा’ नव्यकाव्य सिर्जना र प्रकाशन गर्नुभएका वेणीमाधव ढकाल त्यसभन्दा अधि नै योगी नरहरिनाथ तथा डा. प्रपन्नाचार्य स्वामीद्वारा ‘आशुकवि’द्वारा सम्बोधित तथा सम्मानित हुनुहुन्थ्यो । उहाँका मौलिक साहित्यिक कृतिहरूमा ‘अर्जुन’ शोककाव्य (२०५६), ‘दिव्यलक्ष्मी स्मृति’ शोककाव्य (२०६५), ‘रश्मिप्रभास’ महाकाव्य (२०६९) र ‘पृथूदयम्’ संस्कृत महाकाव्यहरू प्रसिद्ध छन् । त्यसैगरी संस्कृत वाङ्मयका महत्त्वपूर्ण ग्रन्थहरुको अनुवाद, व्याख्या, टीकालेखन आदि कार्यद्वारा नेपाली भाषावाङ्मयलाई समृद्ध बनाउन ढकाल आजीवन तल्लीन हुनुहुन्थ्यो । उहाँका अनुदित कृतिहरुमा
१. गणेश पुराणको नेपाली भाषानुवाद (वि.सं.२०६६), २’ निर्णयसिन्धु` नेपाली भाषानुवाद (२०६८), ३. ‘विवाहपद्धति नेपाली भाषानुवाद (२०६९), ४. ‘आह्निकसूत्रावलि’ नेपाली भाषानुवाद (२०७२), ५. ’श्रीमद्देवीभागवत’ नेपाली भाषानुवाद (२०७३), ६. ‘हिमवत्खण्ड’ नेपाली अनुवाद र सम्पादन (२०७५) ७. ‘श्रीशिवमहापुराण’ नेपाली भाषानुुवाद (२०७८) ८. श्रीमद्भागवत महापुराण’ नेपाली भाषानुवाद (२०८१) जस्ता दर्जनौँ आध्यात्मिक महत्त्वपूर्ण/प्रसिद्ध कृतिहरू प्रकाशित छन् । त्यस्तै संस्कृत साहित्यको ‘काव्यदीपिका’ को अनुवाद, खप्तडबाबाको हिन्दीमा लिखित ‘धर्मविज्ञान’ (भाग-१-४) को नेपाली अनुवाद,“ब्रह्मसूत्रशाङ्करभाष्य“(समन्वयाध्याय) को पूरक अनुवाद गर्नुभएका ब्रह्मलीन ढकालको नेपाली अनुवादलेखन परम्परामा समेत अद्वितीय योगदान रहेको छ।
प्राध्यापक वेणीमाधव ढकालले विद्यालयीय तथा विश्वविद्यालयीय तहमा समेत पाठ्यक्रम तथा पाठ्यपुस्तक निर्माण गरी अमूल्य योगदान दिनुभएको देखिन्छ । कक्षा-९ र १० को संस्कृत साहित्य विषयान्तर्गत ‘अस्माकम् संस्कृतसाहित्यम्’ र नेपाल संस्कृत विश्वविद्यालय(म.सं.वि) अन्तर्गत उत्तरमध्यमादेखि शास्त्री तथा आचार्य तहसम्मका अनिवार्य संस्कृत विषयका पाठ्यक्रम निर्माण एवम् पुनर्लेखन उहाँले गर्नु भएको थियो भने आचार्य (संस्कृतस्नातकोत्तर) तहसम्मका थुप्रै पाठ्यपुस्तकसमेत निर्माण गरी प्राज्ञिक योगदान दिनुभएको स्मरणीय छ ।
१.´हरिकेलि` महाकाव्य, २.´चन्द्रसम्भव` महाकाव्य र ३.´कार्तवीर्योदय`महाकाव्यजस्ता नेपाली विद्वत्वर्गबाट विरचित संस्कृत महाकाव्यको कुशल सम्पादनसहित प्रकाशन गर्ने प्रा.डा. ढकालले १.´हरिकेलिनवनीतम्`माथि मंजुबोधिनी संस्कृत टीका, २.´काव्यदीपिका`को टिप्पणीसहित संस्कृतटीका, ३. ´कार्तवीर्योदयमकरन्द`मा मकरन्द नामक संस्कृतटीका र दिव्यलक्ष्मी नामक नेपाली टीका लेखेर टीकालेखन परम्परामा समेत उल्लेखनीय योगदान पुर्याउनुभएको छ ।
३५ वर्षीय दीर्घ प्राध्यापन पेसामा संलग्न ढकालज्यूले संस्कृत विश्वविद्यालयको प्रकाशनमा संयोजक भई अनेक नेपाली विद्वान्का ग्रन्थहरूको प्रकाशनमा महत्त्वपूर्ण योगदान पूर्याउनु भएको देखिन्छ । जस अन्तर्गत १. ´ब्रह्मसूत्र शाङ्करभाष्य`, २. ´संस्कृत नेपाली शाब्दकोश`, ३. ´कर्मकाण्ड भास्कर` , ४. ´श्रीरामचरितामृत`, ५. ´गण्डकीगौरवम्` आदि पर्दछन् । त्यसैगरी आफ्नो विश्वविद्यालयीय सेवाकालमा विभिन्न गोष्ठीहरूको आयोजना तथा संयोजन गरी अनुसन्धान परम्परामा महत्त्वपूर्ण अवदान दिनुभएको छ। त्यस्ता विद्वद्गोष्ठीहरूमा १. संस्कृतभाषा प्रशिक्षण गोष्ठी (२०५९), २. ‘कार्तवीर्योदय महाकाव्यको विश्लेषण एवम् ग्रन्थिथभेदन` कार्यशाला गोष्ठी (२०५९), ३. ´संस्कृत भाषाविज्ञान` गोष्ठी (२०६०) ४. म.सं. वि. ´अनिवार्य संस्कृत पाठ्यांश समीक्षण गोष्ठी` (२०६०), ५. म.सं.वि. अनुसन्धान परिचर्चा गोष्ठी (२०६१), ६. म.सं. वि. पाठ्यक्रम विचार गोष्ठी (२०६१) ७. अनुसन्धान प्रविधि कार्यशाला गोष्ठी (२०६२ र २०६३) आदि प्रमुख हुन् ।
त्यसैगरी उहाँले नेपाल-भारतमा सञ्चालित विविध गोष्ठी तथा सभासमारोहमा दर्जनौँ विविध विषयसम्बद्ध कार्यपत्रहरू प्रस्तुत गर्नु भएको देखिन्छ । जसमध्ये ढकालज्यूका प्रमुख कार्यपत्रहरू निम्नानुसार देखिन्छन् : १. ´नेपालका संस्कृत नाटक : प्रवृत्ति र परम्परा’ (२०५८) २. ´संस्कृतभाषा प्रशिक्षण`, ने. सं. वि. मा प्रस्तुत कार्यपत्र (२०५९), ३. ´कार्तवीर्योदय महाकाव्य गोष्ठी’ ने.सं.वि. मा प्रस्तुत कार्यपत्र (२०५९), ४. ´नेपालका ब्राह्मणेतरहरूको संस्कृतको विकासमा योगदान` शीर्षक कार्यपत्र (२०५९), ५. ‘संस्कृत भाषाविज्ञान गोष्ठी’ मा प्रस्तुत कार्यपत्र (२०६०), ६. ´अनिवार्य संस्कृत पाठ्यांश` (म.सं.वि.) मा प्रस्तुत कार्यपत्र (२०६०) ७. “रामायण सम्मेलन” मा “नेपाली संस्कृति, साहित्य, कला, इतिहास एवं भूगोलमा प्रतिविम्बित रामायण संस्कृति” शीर्षक कार्यपत्र (२०६७) ८. ‘नेपाल भारत संस्कृत सम्मेलन’ (तिरुपति, आन्ध्रप्रदेश) मा प्रस्तुत कार्यपत्र (२०५७), ९. ´विश्वसंस्कृत सम्मेलन` (दिल्ली) मा प्रस्तुत कार्यपत्र (२०५८), १०. ‘अन्ताराष्ट्रिय वेदसङ्गोष्ठी’ मा प्रस्तुत कार्यपत्र (२०६६), ११. ‘अन्ताराष्ट्रिय वास्तुसम्मेलन’ भारतमा प्रस्तुत कार्यपत्र (२०६७), १२. ´नेपाल-भारत संस्कृत विद्वद्गोष्ठी`मा प्रस्तुत कार्यपत्र (२०७५) आदि।
विश्वविद्यालयमा प्राध्यापनका साथै प्रशासनमा समेत लामो समय सेवा गर्नु भएका प्रा. ढकाल कुशल प्रशासक व्यक्तित्वका रूपमा समेत परिचित हुनुहुन्थ्यो । वि. सं. २०६० पौष १ देखि २०६३ मंसिर २९ सम्म नेपाल संस्कृत विश्वविद्यालयको अनुसन्धान केन्द्रमा कार्यकारी निर्देशक पदमा रही अनुसन्धानको व्यवस्थित उन्नयनमा प्राध्यापक ढकालले विशेष योगदान पुन्याउनु भएको थियो। त्यसैगरी अनुसन्धान परिषद् सदस्य, प्राज्ञिक परिषद् सदस्य, विश्वविद्यालय सभा-सदस्य, संस्कृत विश्वविद्यालय पाठ्यक्रम परामर्श समिति संयोजक, तीनधारा संस्कृत छात्रावास सुपर्यवेक्षक, संस्कृत विश्वविद्यालय नीति, योजना र कार्यक्रम तयारी समिति सदस्यजस्ता महत्त्वपूर्ण प्राज्ञिक तथा प्रशासनिक जिम्मेवारी बहन गर्नु भएका ढकालज्यू पछिल्लो समय वि.सं. २०६९/१०/१० देखि २०७६/०१/१५ सम्म दुई कार्यकाल ने.सं.वि. सेवा आयोगको अध्यक्षजस्तो गरिमामय पदमा रही सेवा गर्नु भएको अविस्मरणीय छ।
दर्जनौँ विद्यावारिधि- शोधप्रबन्धको निर्देशक तथा विशेषज्ञ बनी प्राज्ञिक तथा अनुसन्धानात्मक कार्यमा निरन्तर लाग्न प्रेरित गरिरहनु हुने प्राध्यापक ढकालको विद्वत्ताबाट धेरै शिष्यप्रशिष्यले प्रत्यक्ष लाभ लिने अवसर पाएका थिए भने उहाँका अनुसन्धानमूलक ग्रन्थरत्न तथा साहित्यिक कृतिहरूको आस्वादनबाट सिङ्गो नेपाली पाठक लाभान्वित बनिरहेको थियो, बनिरहेको छ र बनिरहने छ। अतः सयौँ औपचारिक शिष्य तथा हजारौँ अनौपचारिक शिष्यहरूमात्र नभएर सिङ्गो नेपाली पाठक एवं प्राज्ञिकजगत् प्राध्यापक ढकालको असामयिक देहावसानबाट स्तब्ध तथा शोकमग्न बनेको छ। त्यसमा पनि वाल्मीकि विद्यापीठलगायत सिङ्गो नेपाल संस्कृत विश्वविद्यालय परिवारले एउटा भरोसायोग्य अभिभावक गुमाउनु परेको अनुभव गरेको छ।
ब्रह्मलीन गुरु प्राध्यापक ढकालज्यू आफ्नो जीवनकालमै १.महेन्द्र विद्याभुषण (२०५३) २. राष्ट्रिय प्रतिभा पुरस्कार (२०५४), ३. शिक्षा दिवस पुरस्कार (२०५९), ४. जयतु संस्कृतम् पुरस्कार (२०६०) ५. ‘पाणिनि पुरस्कार’ (२०६०), ६. दीर्घसेवा पदक’ (२०६२), ७.गोमात्रिपाठी स्मृति पुरस्कार (२०६७), ८. शिवकला सम्मान एवम् पुरस्कार (२०६७), ९.दधिराम स्मृति सम्मान (२०६८) १०. पशुपतिकुमारी-तोयनाथ स्मृतिसम्मान (२०६८) ११.स्रष्टा सम्मान (२०६८) १२. बलराम जोशी ज्ञानविज्ञान पुरस्कार (२०६९), १३.नइ पुरस्कार (२०७३), १४. ‘सेवानिवृत्त विद्वत्सम्मान’ (२०७६), १५. कृपाकुमारी अध्यात्म पुरस्कार (२०७७) जस्ता दर्जनौँ मानसम्मान तथा पुरस्कारद्वारा अभिनन्दित हुनुहुन्थ्यो । यसप्रकार दर्जनौँ मानसम्मान विभिन्न सरकारी गैरसरकारी संघसंस्थाबाट प्रदान गरिएको भएपनि विद्वद्धौरेय प्राध्यापक ढकालको पूर्ण योगदानलाई कदर गर्ने उच्चकोटिको सम्मान राज्यका तर्फबाट हुनुपर्थ्यो र अझै हुनुपर्छ भन्ने लेखकीय अभिमत छ।
संस्कृत वाङ्मयमा निहित ज्ञानविज्ञानको उत्खनन गरी आजीवन अध्ययन, अध्यापन, अनुसन्धान, लेखन, प्रकाशनमा जीवन समर्पण गरी सयौँ ग्रन्थरत्न तयार पार्नुभएका प्राध्यापक वेणीमाधव ढकाललाई नेपाल सरकारका तर्फबाट मरणोपान्त सम्मानस्वरूप “आधुनिक व्यास” को सम्मान प्रदान गरी सद्गुरुप्रति सच्चा श्रद्घासुमन प्रकट गर्नका लागि संस्कृत विश्वविद्यालय तथा समस्त प्राज्ञिक वर्ग एवं समस्त शिष्यगणले यथाशीघ्र सम्बन्धित निकाय/सरकारसमक्ष पहल गर्नु जरुरी छ। प्रतिभा, व्युत्पत्ति र अभ्यासको समष्टि, विद्यामूर्ति तथा मनीषी व्यक्तित्वको भौतिक अवसानले नेपाल राष्ट्र तथा संस्कृत र नेपाली भाषावाङ्मयलाई अपूरणीय क्षति पुगेको छ। नश्वर कलेवर परित्याग गरी ब्रह्मलीन हुनुभएका पूज्य गुरुवर प्राध्यापक ढकालज्यू आफ्नो जीवन सार्थक र प्रयोजनवत् बनाउन विद्याभ्यसनमै तल्लीन भएकाले उहाँका प्राज्ञिक तथा बौद्धिक शोधानुसन्धानात्मक कृति, साहित्यिक रचना, प्रशासनिक योगदान तथा यश/कीर्तिले उहाँ सदा सर्वदैव जीवन्त तथा अमर रहिरहनु हुनेछ । “कीतिर्यस्य स जीवति” अर्थात् जसको कीर्ति छ त्यो सदैव बाँच्दछ । आजीवन नै साहित्यसिर्जना र शास्त्रालोडनमा समर्पित नेपालराष्ट्रका गौरव कीर्तिशेष स्रष्टा, द्रष्टा, अनुसन्धाता, आधुनिक व्यास प्राध्यापक वेणीमाधव ढकाल गुरुज्यूप्रति अगाध आस्थासहित श्रद्धासुमन समर्पण! ´विद्वान् भुवो भूषणम् !`
जयतु संस्कृतम्!