डा.उमेशप्रसाद घिमिरे
घरबाटै संस्कृत व्याकरण, अमरकोश, चण्डीलगायत संस्कृतको अनौपचारिक अध्ययन गर्दै वाराणसी पुगेर पूर्वमध्यमा, उत्तरमध्यमा हुँदै नव्यव्याकरण विषयमा शास्त्री अध्ययन गर्दै वी.एच.यू.बाट वीए उत्तीर्ण भएपश्चात् कानून विषयमा वीएल र अंग्रेजीमा २०२२ मा स्नातकोत्तर गरी २०२७ देखि अंग्रेजी विषयको उपप्राध्यापक पदमा त्रि.वि.मा स्थायी प्रवेश र प्राध्यापन गर्न थाल्नु भएकामा नेपाली भाषा- साहित्यको मोहले गर्दा वि.सं. २०३१ सालमा नेपाली विषयमा एम.ए. पास गरी नेपाली केन्द्रीय विभाग कीर्तिपुरमा सरुवा भई २०३५ देखि २०६५ सम्म ( यस लेखकले समेत कक्षा लिने र विदाइ गर्ने अवसर प्राप्त गरेको थियो।) नेपाली विषय प्राध्यापन गरी निवृत्त हुनु भएका नेपाली साहित्य समालोचना क्षेत्रका सिद्धहस्त स्रष्टा प्राध्यापक घनश्याम कॅंडेलज्यूको साहित्यिक यात्रालाई समेटेर तयार पारिएको ‘घनश्याम कँडेलको साहित्य- साधना’ शीर्षक विपुलकाय ग्रन्थको लोकार्पण समारोह मिति २०८१ असार ०८ गते शनिवार पद्मकन्या कलेजको डेनिस कक्षमा भव्यरूपमा सम्पन्न भयो ।
सह प्रा-डा. यज्ञेश्वर निरौलाज्यूद्वारा सम्पादन गरिएको उक्तग्रन्थ ६६ जना समालोचक, विद्वान्, पारिवारिक सदस्यहरूद्वारा लेखिएका लेखहरू तथा उहाँसँग लिइएका अन्तर्वार्ता र उहाँबाट लेखिएका भूमिकाहरू आदि समेटिएको १०४० पृष्ठात्मक छ । प्रस्तुत ग्रन्थको लोकार्पण समारोहको सभाध्यक्षता श्रीमती सुभद्रा कॅंडेलज्यूले गर्नु भएको थियो भने प्रमुख अतिथिको आसन नेपाली भाषावाङ्मयका महासमालोचक, महामनीषि प्रा. डा. वासुदेव त्रिपाठीज्यूले अलङ्कृत गर्नु भएको थियो। त्यसैगरी नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति गङ्गाप्रसाद उप्रेती विशिष्टातिथिका रूपमा आसीन हुनुहुन्थ्यो भने ग्रन्थनायक घनश्याम कॅंडेल, नेपाल संस्कृत विश्वविद्यालयका पूर्व कुलसचिव तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्यसचिव प्राध्यापक जगत्प्रसाद उपाध्याय ‘प्रेक्षित’, समीक्षकद्वय प्रा. डा. रामप्रसाद ज्ञवाली, डा. गीता त्रिपाठी, ग्रन्थसम्पादक डा.यज्ञेश्वर निरौला, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्यसचिव प्रा डा जीवेन्द्रदेव गिरि , पूर्वप्राज्ञ प्रा.डा. देवीप्रसाद नेपाल, प्रा.डा. हेमनाथ पौडेल, प्रा. डा. दुर्गाबहादुर घर्ती, प्रा.डा.लेखप्रसाद निरौला, फणीन्द्रराज निरौलाज्यू लगायतलाई मञ्चमा आसन ग्रहण गराइएको थियो ।
स्वागत मन्तव्यका क्रममा पशुपति न्यौपानेज्यूले विना हल्लाखल्ला आफ्नै सृजनाशक्तिले उचाइ प्राप्त गर्न सफल प्राध्यापक घनश्याम कॅंडेलज्यू बालकृष्ण समजस्तै अनुष्टुप प्रेमी, लक्ष्मीप्रसाद देवकोटजस्तै विद्रोही र क्रान्तिकारी, माधवप्रसाद घिमिरेजस्तै राष्ट्रवादी, मानवतावादी एवम् विश्वन्धुत्वप्रेमी कवि हुनुहुन्छ भन्ने टिप्पणी गर्नु भएको थियो ।
पुस्तक विमोचन समारोह मात्र नभएर गुरु शिष्य मिलन कार्यक्रम भएकाले समादरणीय गुरुदेवप्रति सम्पूर्ण शिष्यहरूको प्रतिनिधित्व गर्दै ग्रन्थनायक एवं प्राध्यापक घनश्याम गुरुदेव कॅंडेलज्यूलाई डा. यज्ञेश्वर निरौलाले ढाकाटोपी, प्रा.डा.देवी नेपालले दोसल्ला, डा. गीता त्रिपाठीले रुद्राक्षमाला र प्रा.डा. रामप्रसाद ज्ञवालीले पुष्पमाला पहिऱ्याई गुरु-अभिनन्दन समेत गर्नुभएको थियो ।
ग्रन्थका सम्पादक डा. यज्ञेश्वर निरौलाज्यूले आफ्नो मन्तव्यका क्रममा गुरुदेवले २०८०को माघमा दिनुभएको जिम्मेवारीलाई आफ्ना वैयक्तिक व्यस्ततम समयलाई प्रवाह नगरी आफ्नै पिताजीको काम सम्झी अहोरात्र खटिएकाले ग्रन्थले यसरूपमा आज मूर्तरुप प्राप्त गरेकोमा हर्ष प्रकट गर्दै प्राध्यापक घनश्याम कँडेलज्यूलाई सबै शिष्यको अनुकरणीय आदर्श (रोलमोडल) व्यक्तित्वका रूपमा चित्रण गर्नुभएको थियो।
समीक्षक डा. गीता त्रिपाठीज्यूले आजको दिन सामान्य नभएर विशेष महोत्सव भएको भन्दै कवि, निबन्धकार, कथाकार, सम्पादक, प्रशासक, अनुवादक, भूमिकाकार, अन्तर्वार्ताकार, शोधनायक आदि विविध व्यक्तित्वका धनी प्राध्यापक घनश्याम कॅंडेलज्यूको जीवनी, व्यक्तित्व र कृतित्वमा आधारित यस कृतिले आगामी अध्ययन र लेखनमा समेत मार्गनिर्देश गर्ने विश्वाससमेत प्रकट गर्नुभएको थियो।
सभाका विशिष्टातिथि एवम् नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व उपकुलपति गङ्गाप्रसाद उप्रेतीज्यूले आफ्नो मन्तव्यका क्रममा शिष्यगण मिलेर तयार पारिएको यस ग्रन्थले अग्रजसम्मानको नेपाली संस्कृतिलाई पुनःस्थापित गरेकोमा हर्ष प्रकट गर्दै प्राध्यापक घमश्याम कॅंडेलज्यूको शालीन , बौद्धिक व्यक्तित्वको प्रशंसा गर्नु भएको थियो अनि स्रष्टा कँडेलज्यूको निरन्तर साहित्यसाधनाको शुभकामना समेत दिनुभएको थियो।
छन्दकविताका अभियन्ता प्रा. डा. देवीप्रसाद नेपालज्यूले आजको कार्यक्रम गुरुवन्दनापरक भएकाले गुरुको गुरुत्वमा केन्द्रित छ, गुरु हुनु र शिक्षक हुनु फरक कुरा हो, प्रा.डा. वासुदेव त्रिपाठी र प्राध्यापक घनश्याम कॅंडेलज्यू वास्तविक गुरु हुनुहुन्छ भन्दै स्वकीय ‘गुरु’ शीर्षक कविता सुमधुर स्वरमा गायन गर्नु भएको थियो र नजिकको तीर्थ हेला भनेझैँ वासुदेव त्रिपाठी र प्रा. घनश्याम कॅंडेलजस्ता जीवित इतिहास एवम् नेपाली भाषावाङ्मयमा समर्पित व्यक्तित्व हाम्रा सामु पाउँदा पनि हामीले लाभ उठाउन नसकेकोप्रति खेदप्रकट गर्नुभएको थियो र गुरुहरूको साहित्यिक दृष्टिकोण बमोजिम साहित्यसाधना गर्न सक्यौँ भने मात्र गुरुप्रति हाम्रो सच्चा सम्मान हुने भाव प्रकट गर्नु भएको थियो।
नेपाली साहित्यप्रति पूर्णरूपेण समर्पित छन्दकविताका अभियन्ता प्रा.डा.रामप्रसाद ज्ञवालीज्यूले कृतिसमीक्षाका क्रममा नेपाली भाषा, नेपाली साहित्य, नेपाली समालोचनाको मानकीकरणका निम्ति प्रा.डा. वासुदेव त्रिपाठीज्यू र प्राध्यापक घनश्याम कँडेलज्यूले जुन योगदान दिनुभएको छ त्यो अत्यन्त प्रशंसनीय तथा अतुलनीय रहेको धारणा राख्दै गुरुहरूद्वारा प्रदर्शित मार्गलाई अनुसरण हामी साहित्यस्रष्टा सवैले गर्नु पर्ने विचार अभिव्यक्त गर्नुभएको थियो। साथै ज्ञवालीले
हामी आज नेपाली साहित्यको उत्थानमा केन्द्रित नभई आफैँ स्थापित हुन आत्मप्रचारमा केन्द्रित भएका छौँ भन्दै दुःखेसो प्रकट गर्नु भएको थियो र गुरुहरू नेपाली भाषा साहित्यकै सम्वृद्धिमा समर्पित भएकाले अमर हुनुभएको छ र नेपाली भाषावाङ्मयमा सदा सर्वदा जीवन्त बन्न सफल हुनु भएको छ भन्ने विचार प्रस्तुतिपूर्वक प्राध्यापक घनश्याम कँडेल गुरुको योगदानमा आधारित प्रस्तुत ग्रन्थको सम्पादनमा सक्रिय भई सफलता प्राप्त गर्नु हुने डा. यज्ञेश्वर निरौलाज्यूलाई गुरुप्रतिको ऋण चुक्ता गर्नुभएकोमा हार्दिक बधाइसहित साधुवाद प्रकट गर्नुभएको थियो । घनश्याम गुरु भावना र विचारको संश्लेषण गर्दै नेपाली सहित्यको सम्वृद्धिमा समर्पित हनुहुन्छ, उहाँले पढाउँदा जसरी थोरै शब्दको प्रयोग गर्नु हुन्थ्यो त्यसैगरी मितव्ययी भएर कविता सृजना गर्नुहुन्छ, उहाँका सबै काव्यकृति अध्ययन गर्न सकेमा सबै स्रष्टालाई कस्तो विषयमा र कसरी लेख्ने भन्ने स्पष्ट मार्गनिर्देश गर्न सक्ने भन्दै प्राध्यापक कॅंडेलज्यूको लेखनकौशलको उच्चप्रशंसा गर्नु भएको थियो ।
शुभभाव व्यक्त गर्ने क्रममा प्रा.डा. जीवेन्द्रदेव गिरिज्यूले लोकार्पित कृति समाजका लागि प्रेरणाप्रद, अनुकरणीय ज्ञानप्रद बन्ने विश्वास गर्दै प्राध्यापक कँडेलको सक्रिय स्वस्थ जीवनको शुभकामना व्यक्त गर्नु भएको थियो।
ग्रन्थनायक प्राध्यापक घनश्याम कँडेलज्यूले आफ्नो मन्तव्यका क्रममा साहित्यमा आफूले भोगेको समाज प्रतिविम्बित हनुपर्छ र त्यसले भविष्यलाई मार्गनिर्देश समेत गर्न सक्नुपर्छ भन्दै यस समारोहलाई सफल तुल्याउन समुपस्थित हुनु भएका प्रमुख अतिथि गुरुवर प्रा.डा. वासुदेव त्रिपाठीज्यूलगायत सहभागी सबै विशिष्ट साहित्यकार एवम् समालोचक विद्वज्जनप्रति हार्दिक आभार प्रकट गर्नुभएको थियो।
प्रमुख अतिथि प्रा.डा. वासुदेव त्रिपाठीज्यूले आफ्नो मन्तव्य दिने क्रममा प्राध्यापक घनश्याम कँडेलज्यू हाम्रो देशको अत्यन्त प्रतिभाशाली व्यक्तित्वमध्ये एक हुनुहुन्छ र अङ्ग्रेजी विषयमा स्थायी प्राध्यापन सेवाबाट नेपाली विषयमा स्नातकोतर गरी नेपाली विभागमा स्थानान्तरण गरेबाटै उहाँमा नेपाली भाषावाङ्मयको मोह कस्तो थियो भन्ने स्वत: अभिव्यक्त हुन्छ भन्दै उहाँले नेपाली साहित्यको श्रीवृद्धिमा पुऱ्याउनु भएको योगदान एवम् समर्पण भावको उच्च प्रशंसा गर्नु भएको थियो । नेपाली विभागको नेतृत्वमा आफू रहँदा घनश्याम कँडेल, दयाराम श्रेष्ठ, मोहनराज शर्मा जस्ता कर्मठ र प्राज्ञिक प्राध्यापकहरूको साथ र सहयोग पाएर नै आफ्नो कार्यकाल नेपाली भाषा साहित्यको स्वर्णकालका रूपमा विकास भएको धारणा राख्दै कवि तथा समालोचक प्राध्यापक घनश्याम कँडेलज्यूको काव्य-साहित्यमा विश्वबोध, समाजबोध, आत्मबोध पाइने, नेपाली साहित्यमा फुटकरकविता, खण्डकाव्य देखि महाकाव्य सम्मका कृति सुम्पिनु हुने प्रा. कँडेल सिद्धहस्त कवि, लेखक र समालोचक हुनुहुन्छ, छन्दोबद्ध कविता लेखन परम्परामा घिमिरे देदीप्यमान नक्षत्र हुनुहुन्छ भन्दै आजको दिन शुभदिन भएकोमा प्रा.डा.त्रिपाठीले हर्षोद्गार समेत प्रकट गर्नुभएको थियो।
सभाध्यक्षको आसनबाट ग्रन्थनायककी धर्मपली सुभद्रा कँडेलज्यूले ´घनश्याम कँडेलका साहित्य साधना` शीर्षक ग्रन्थ लोकार्पित भएकोमा आफू अत्यन्त आह्लादित भएको भन्दै ग्रन्थका सम्पादक यज्ञेश्वर निरौलाज्यू र सम्पूर्ण लेखक वृन्दप्रति हार्दिक आभार प्रकट गर्नु भएको थियो। प्राध्यापक कँडेलज्यूको सहयात्रीका रूपमा जीवन अघि बढाउँदा श्रीमान् श्रीमती बीच कहिल्यै पनि ठाकठुक सम्म नपरेको सम्झदै उहाँको सरल, सादगी,भद्र,शालीन व्यक्तिवको प्रकाश पार्दै सभालाई गरिमामय बनाउन पाल्नु हने प्रमुख अतिथि नेपाली साहित्यका प्रमुख अभिभावक प्रा. डा. वासुदेव त्रिपाठीज्यूलगायत समुपस्थित समस्त साहित्यकार, समालोचक, बौद्धिक व्यक्तित्वप्रति आभार ज्ञापन गर्दै समारोह समापन गर्नुभएको थियो।
‘देवयानी’ खण्डकाव्य (२०३९) प्रकाशन गरेर कविका रुपमा उदाउनु भएका प्राध्यापक घनश्याम कँडेलज्यूका ‘केही अन्वेषण केही विश्लेषण` (२०४०: समालोचना), ‘पाश्चात्य यथार्थवादी नाटक’ (२०४६: समालोचना), ‘जीवनका सन्दर्भहरू’ (२०५१: कवितासङ्ग्रह), ‘नेपाली समालोचना’ (२०५१: सम्पदान), ‘उज्यालोतिर (२०५५ : गीतिकाव्य), ‘वनको क्रन्दन’ (२०५८: लघुकाव्य), आँसुका अक्षर (२०६० : शोककाव्य), ‘विश्वामित्र मेनका’ (२०६६ : खण्डकाव्य), ‘धृतराष्ट्र‘ (२०७३: खण्डकाव्य), ‘घनश्याम कँडेलका खण्डकाव्य’ (२०७७ : खण्डकाव्यसङ्ग्रह), ‘सम्यक सम्बुद्ध‘ (२०७८ : महाकाव्य), ‘स्वच्छन्द विचरण’ (२०७९ : समालोचनासङ्ग्रह) आदि काव्यकृति र समालोचना कृतिहरू प्रकाशित भइसकेका छन् । ८५ वर्षीय वयोवृद्धजीवनमा समेत साहित्य साधनामा अहोरात्र साधनारत प्रा.कँडेलको जीवन तपोमय देखिन्छ । प्रस्तुत कृतिहरूले नै उहाँलाई नेपाली भाषा-वाङ्मयमा अमर र जीवन्त बनाइ राख्ने छन् । हाम्रा समादरणीय गुरुवर प्राध्यापक घनश्याम कँडेलज्यूको सक्रिय, सचेत, स्वस्थ, सुदीर्घ जीवनको मङ्गलमय शुभकामनासहित सादर अभिनन्दन गर्दछौँ।
सद्गुरुं तं नमामि ! तस्मै श्रीगुरवे नमः !!
लेखक : डा.उमेशप्रसाद धिमिरे
शाङ्कर वेदान्त विभाग, वाल्मीकि विद्यापीठ