अर्घाखाँची । पाणिनि पर्यटन समाजले हरेक वर्ष आयोजना गर्ने पाणिनि कृषि, पर्यटन, उद्योग र व्यापार महोत्सव फागुन ६ गते देखि हुने भएको छ ।
आठौं संस्करण उक्त महोत्सव फागुन ६ गते देखि १८ गते सम्म पाणिनि गाउपालिकाको कुरुले फाँटमा हुनेछ । आयोजकले दुर्गाफाटमा पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त जानकारी दिएको हो । बिगतका वर्षमा कम समयको लागि हुँदै आएको महोत्सव यसवर्ष १३ दिनसम्म संचालन हुने आयोजक पाणिनि पर्यटन समाजका अध्यक्ष झबिन सुनामले जानकारी दिए ।
“कृषि, पर्यटन, उद्योग र व्यापार, पाणिनिको आर्थिक समृद्धि विकासको मूल आधार” भन्ने मुल नारासहित आयोजना हुन लागेको महोत्सवको मुख्य उद्देश्य पाणिनिलाई चिनाउने र पाणिनिको प्रचारप्रसार गर्नु रहेको आयोजकले जनाएको छ । महोत्सवमा कृषि प्रदर्शनी, फोटो प्रदर्शनी, बालुद्धान, डान्स आइडल, सिंगिंङ आइडल, भजन लगायत विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुको साथमा सांस्कृतिक प्रस्तुती रहने छ ।
पाणिनि पर्यटन समाजको आयोजना, भिजन लुम्बिनी इन्टरटेन्टमेन्ट प्राली मुख्य आयोजक, पाणिनि गाउपालिका संरक्षक र लुम्बिनी पर्यटन बोर्ड प्रवर्द्धक रहेको महोत्सवको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गर्ने आयोजकले जानकारी दिएको छ ।
आयोजकले १५ वटा उपसमिति बनाएर तयारी सुरु गरेको छ । महोत्सव तीस हजार दर्शकले अबलोकन गर्ने आयोजकले अनुमान गरेको छ ।