“नेपालमै बस्छु, सेवा गर्छु” – काशिनाथ बन्जाडे केशबको यो भनाइ उनका बाल्यकालका सपना मात्र होइनन्, उनले अपनाएको जीवनशैलीको प्रतिबिम्ब हो। २०४२ मंसिर १४ गते बुबा ठाकुर प्रसाद बन्जाडे र आमा मनकला बन्जाडेका दोस्रो सन्तानका रुपमा जन्मिएका थिए बञ्जाडे । बाल्यकालमै आमाको माया गुमाएका उनी सानैदेखि संघर्षशील थिए। तीन वर्षको उमेरमा आमा गुमाएपछि उनका लागि जीवन सहज रहेन। बाबु ठाकुरप्रसाद बन्जाडे भारतीय सेनामा कार्यरत थिए, आमाको निधनपछि उनले काशिनाथलाई गाउँ ल्याए।
सानैदेखि उनले गाउँको दुःख देखेका थिए। स्वास्थ्य सेवाको अभावले गाउँका बिरामीहरू सिटामोल नपाएरै अकालमा ज्यान गुमाउने अवस्था थियो। यही कारणले उनलाई बाल्यकालदेखि नै स्वास्थ्य सेवामा केही गर्ने सोच आयो।
२०५८ सालमा एसएलसी दिएपछि उनी आमा गुमाएको र बाबु भएको ठाउँ भारत गए । एक महिना बसेर गाउँ फर्किए, तर एसएलसीमा उनी असफल भए। पुनः परीक्षा दिएर उत्तीर्ण भएपछि उनले पाल्पाबाट २०६१ सालमा सीएमए पास गरे। त्यसपछि गाउँलेहरूले उनलाई गाउँमै स्वास्थ्य सेवा दिन प्रेरित गरे।
तत्कालिन लुम्बिनी अञ्चल अस्पतालमा ६ महिना काम गरेर अनुभव बटुलेपछि २०६२ सालमा हर्राबोटमा मेडिकल खोलेर गाउँमै स्वास्थ्य सेवा दिन थाले। खिदिम स्वास्थ्य चौकी र नरपानी स्वास्थ्य चौकीमा गरी करिब ६ वर्ष सेवा दिए। साथै, दुई वर्ष मल्लरानी ग्रामीण विकास केन्द्रमा काम गरे।
२०६८ सालमा उनले नेपाल राष्ट्रिय मावि पणेनाबाट स्वास्थ्य शिक्षा विषयमा कक्षा १२ पास गरे। जीवनका विभिन्न मोडमा उनले विदेश जाने अवसर पाए, आकर्षक तलबका प्रस्ताव पनि आए, तर उनले नेपाल नछोड्ने निर्णय गरे। हालसम्म उनले पासपोर्टसमेत बनाएका छैनन्।
उनी भन्छन्, “गाउँमै बसेर सेवा गर्ने अवसर छ भने किन विदेश जाने ? मैले थुप्रै बिरामीलाई सहयोग गरे, उनीहरूको आशिर्वाद पाए। यो नै मेरो सन्तुष्टि हो।”
विवाहपछि पनि उनले यही प्रतिबद्धता कायम राखे। २०६८ सालमा धातिवाङ्गकी सरिता पौडेलसँग विवाह गरेपछि दुई सन्तानका पिता भए। अहिले उनी पोखराथोकमा मेडिकल सञ्चालन गरेर गाउँलेहरूलाई सेवा दिइरहेका छन्।
काशिनाथ बन्जाडे जस्ता युवाहरूले गाउँमै बसेर स्वास्थ्य सेवा जस्ता आधारभूत आवश्यकताहरू पूरा गरिरहेका छन्। हजारौँले बिदेसिन बाध्य भइरहेको अवस्थामा उनले नेपालमै सम्भावना देखे। उनको यो यात्राले धेरैलाई प्रेरणा दिन सक्छ।
नेपाललाई सक्षम जनशक्ति चाहिएको छ, र काशिनाथ जस्तै ‘फेस’ हरू देशभित्रै रहेर समाज परिवर्तनका संवाहक बन्दै गएका छन् ।