घनश्याम भट्टराई, एक नाम जो उद्यमशीलता र मेहनतको पर्याय बनेको छ। २०५२ साल असोज १ गते पाणिनी–५, मैदान जम्बोटमा जन्मिएका भट्टराईको बाल्यकाल सामान्य पारिवारिक परिवेशमा बित्यो। उनी शोभाखर भट्टराई र गोमा भट्टराईका तेस्रो सन्तान हुन्।
सानैदेखि संगीतप्रति रुचि राख्ने घनश्याम सुमधुर स्वरका धनी छन् । प्रारम्भिक शिक्षा सर्बोदय आवि बाट सुरु गरेका उनले २०६७ सालमा भानु माविबाट एसएलसी उत्तीर्ण गरे। संगीत सिक्ने सपना बोकेर २०६८ मा पोखरा पुगे पनि परिस्थितिले साथ दिएन। आर्थिक अभावकै कारण कान्तिपुर पत्रिका बेच्दै संगीत सिक्न खोजेका उनले चार महिना मात्र पोखरामा बिताए र गाउँ फर्कने निर्णय गरे।
२०६८ को पौषमा उनी कपिलवस्तु झरेर पोल्ट्री फार्ममा काम गर्न थाले। यहाँ उनले दुई वर्ष काम गर्दै पोल्ट्री व्यवसायको अनुभव संगाले। देशमै केही गर्नुपर्छ भन्ने अठोट बोकेका भट्टराईले विदेश जाने सोच कहिल्यै राखेनन्। पोल्ट्री फार्ममा काम गर्दाको अनुभवले उनलाई आफ्नै व्यवसाय सुरु गर्ने प्रेरणा दियो। संगै उनले त्यहिबाट कक्षा १२ को अध्ययनलाइ पनि जोड्ने प्रयास गरे ।
२०७० मा आफ्ना दाजु नवराज भट्टराईको साथमा उनले जितपुरमा भाडामा पोल्ट्री फार्म लिएर व्यवसाय सुरु गरे। छ महिनापछि राजपुरमा व्यवसाय बिस्तार गर्दै एक वर्षसम्म पोल्ट्री सञ्चालन गरे। उनको यो ब्यवसायमा उनका अंकल झविलाल भट्टराईले अतुलनिय सहयोग गरेको उनि सुनाउछन । यस क्रममा उनले व्यावसायिक ज्ञान मात्र होइन, नाफा–नोक्सानका तिता मिठा अनुभव पनि बटुले।
२०७२ मा उनले गाउँ फर्केर स्थायी रूपमा पोल्ट्री व्यवसाय गर्ने निर्णय गरे। गाउँमै ३००० कुखुरा अट्ने दुईवटा खोर निर्माण गरी व्यवसायिक यात्रा सुरु गरे। कठिनाइहरूबीच पनि दृढ इच्छाशक्ति र परिश्रमका कारण उनको व्यवसाय फस्टाउँदै गयो। २०७९ मा दुर्फाटमा ‘फ्रेस हाउस’ खोलेर व्यवसाय विस्तार गरे।
पोल्ट्री व्यवसायमा लामो अनुभव संगालेका घनश्यामलाई स्थानीय बजारमा धेरैले चिन्छन्। उनले पोल्ट्री क्षेत्रमा थुप्रै चुनौतीहरू सामना गरे— कहिले चराको रोगका कारण घाटा बेहोरियो, कहिले दाना महँगो हुँदा उत्पादन लागत बढ्यो। तर, निरन्तर प्रयासकै कारण उनले व्यवसायलाई घाटाबाट नाफातर्फ डोर्याए। २०८० सालमा ४५०० कुखुरा अट्ने थप खोर निर्माण गरी व्यवसाय विस्तार गरे। उनी थप ६ हजार कुखुरा अट्ने फार्म निर्माण गर्दै छ्न् । उनको लक्ष्य गाउमै १५ हजार कुखुरपाल्ने रहेको छ ।
उनले व्यवसायमा संघर्ष र उपलब्धिको लामो यात्रा पार गरिसकेका छन्। गाउँमै बसेर समृद्धि खोज्ने उनको सोचले धेरै युवालाई प्रेरित गरिरहेको छ। उनी भन्छन्, “देशमा सम्भावना प्रशस्त छ, तर व्यवस्थापन गर्न नसक्दा र राजनीतिक अस्थिरताका कारण धेरै युवा विदेशिन बाध्य छन्।”
उनको उद्यमशीलतामा परिवारको साथ निकै महत्त्वपूर्ण रह्यो। दाजु नवराज भट्टराईलगायत परिवारका सदस्यहरूले उनलाई निरन्तर साथ दिए।
२०७७ बाट समाचारपोस्ट डटकममार्फत मिडिया क्षेत्रमा प्रवेश गरेका भट्टराई पाणिनी पत्रकार समाजको सदस्य हुँदै हाल कोषाध्यक्ष छन्। उनी दुर्गाफाटबाट सञ्चालित नागरिक टेलिभिजनका सञ्चालक पनि हुन्।
२०७८ मा भूमिकास्थानकी रुपा खनालसँग विवाह गरेका भट्टराई एक छोराका पिता पनि हुन्। व्यवसायिक सफलतासँगै उनले समाजसेवा र सञ्चार क्षेत्रमा पनि राम्रो छवि बनाइसकेका छन्।
घनश्याम भट्टराई गाउँमै उद्यम गरेर सफल बनेका उदाहरणीय युवा हुन्। जहाँ धेरै युवा विदेशतर्फ आकर्षित भइरहेका छन्, त्यहाँ उनले गाउँमै अवसर खोजेर आत्मनिर्भरताको बाटो अपनाए। उनी जस्ता युवाहरूको उदाहरणले देशभित्रै व्यवसाय गर्ने र सफल बन्ने सोच भएका अन्य युवालाई प्रेरणा दिनेछ।