पाणिनी गाउँपालिकाका एक युवा, जसले जीवनका अनेक संघर्षहरूलाई पार गर्दै आफूलाई समाजका लागि प्रेरणाको स्रोत बनाएका छन्। उनी हुन् सौर्यनारायण न्यौपाने—हेर्दा अपांगता भए पनि मनोबलमा कुनै कमी छैन। समाजले अपांगताको चश्माले हेरे पनि उनले आफैंलाई कहिल्यै अपांग ठानेनन्।
बि.स. २०४७ साल बैशाख २३ गते पाणिनी गाउँपालिकाको वडा नम्बर ४, पटौटीमा जन्मिएका सौर्यनारायण मध्यम वर्गीय परिवारका कान्छा छोरा हुन्। बाल्यकालदेखि नै खेलकुदमा रुचि राख्ने उनी भलिबल खेल्न, भजन गाउन, र बाजा बजाउन सिपालु थिए।
२०६५ सालमा एसएलसी पास गरेपछि उनले पनि धेरै युवाजस्तै विदेश जाने योजना बनाए। उनका दाइ विदेशमा थिए, तर त्यहाँको कठिनाइ सुनेपछि उनको मन परिवर्तन भयो। काठमाडौं आएर होटलमा काम थाले, तर न्यून पारिश्रमिक र कठिन श्रमका कारण केही महिनामै घर फर्कने निर्णय लिए।
विदेश नगई आफ्नो देशमै केही गर्नुपर्छ भन्ने सोच राख्दै २०६७ सालमा उनी चितवन गएर हाउस वाइरिङ सिके। केही समयपछि गाउँमै विद्युतीकरणको काम सुरु भएपछि उनले आफ्नै ठाउँमा इलेक्ट्रिकल व्यवसाय थाले। साथीहरूसँग मिलेर केबल टिभी जडानसमेत गरे। उनको काम फस्टाउँदै गयो, जिन्दगी सहज बन्दै थियो, तर २०६९ साल भदौ २३ गते उनको जीवनमा एउटा ठुलो दुर्घटना आयो।
त्यस दिन, गाउँको बिजुली लाइन बिग्रिएको खबर आयो। स्थानीयले उनलाई मर्मतका लागि बोलाए। पोलमा चढेर तार मर्मत गर्ने क्रममा अचानक करेण्ट लागेर उनी पोलबाट खसे। आधा शरीर जलेको अवस्थामा उनी अचेत भए। उनलाई तत्कालै पाल्पाको मिसन अस्पताल पुर्याइयो, त्यसपछि काठमाडौंको टिचिङ अस्पतालमा रिफर गरियो।
सर्जरीको क्रममा उनको एउटा हात पूर्ण रूपमा हटाउनु पर्यो, बाँकी रहेको हातका तीन औँलामात्रै बच्न सके। अस्पतालमा ७५ दिन बिताएपछि उनी गाउँ फर्किए। गाउलेहरू भेट्न आए, हौसला दिए। उनले सोचे, “मैले मान्छे कमाएको रहेछु, म बाँच्नुपर्छ।” यही आत्मबलले उनले पुनः जीवनमा संघर्ष गर्न थाले।
२०७२ सालमा उनले सपना न्यौपानेसँग विवाह गरे। श्रीमतीको साथमा उनले २०७४ सालमा गाउँमै कुखुरा फार्म सञ्चालन गरे। व्यवसाय राम्रो हुँदै गयो, पोल्ट्रीसँगै गाई पालनसमेत सुरु गरे। अहिले उनी स्वदेशमै राम्रो आम्दानी गरिरहेका छन्।
शारीरिक रूपमा अपांगता भए पनि उनी कुनै कुरामा पछि परेनन्। समाजसेवामा सक्रिय उनले अपांगहरूलाई पनि आत्मनिर्भर बन्न प्रेरित गरिरहेका छन्। सौर्यनारायण भन्छन्, “नेपालमै सम्भावना छ, हिम्मत र इमान्दारिताले केही गर्न सकिन्छ।”
उनको यो संघर्षशील यात्राले धेरै युवाहरूलाई सिकाइ दिएको छ—हिम्मत, आत्मनिर्भरता, र मेहनतले जस्तोसुकै परिस्थितिलाई पनि जित्न सकिन्छ।