पाणिनिको दुर्गाफाट, पाली, भञ्ज्याङ् लगायतका घुम्ती बाटोमा रातो बस हर्न बजाउँदै आयो भने जो कोही भन्छन्, “बासे दाइको बस आयो !” सानैदेखि मेहनती, इमानदार र सेवाभावी बासुदेव श्रेष्ठ, अर्थात् बासे दाइ, गाउँलेहरूको मन जितेका नाम हो।
२०४३ सालमा तारा प्रसाद श्रेष्ठ र बाटुला देवी श्रेष्ठको ११ औं सन्तानका रूपमा जन्मिएका बासुदेव श्रेष्ठको बाल्यकाल सामान्य नै थियो। अध्ययनमा विशेष रुचि नदेखाएका उनले बाबुराम आवि (विद्यालय) मा प्रारम्भिक शिक्षा लिए पनि स्कुले जीवन लामो भएन। पढाइ भन्दा बाहिरको संसार उनलाई आकर्षित गर्यो। गाउँघरमा गाडी गुड्दा त्यसको आवाज सुन्ने, हेर्ने उनको सौख थियो। यिनै सौखले उनलाई सानै उमेरमा गाडीको खलासी बनायो।
खलासीको काम गर्दै जाँदा गाडी चलाउने मोहले उनलाई चालक बन्न प्रेरित गर्यो। पाल्पामा खलासीको काम गर्दै गर्दा उनले सवारी चलाउन सिके, अनि यही पेशालाई नै आफ्नो जीवनको यात्रासँग गाँस्ने निर्णय गरे।
गाडी चलाउन थाल्दा उनले गुल्मी, अर्घाखाँची, पाल्पाका घुम्ती र उकालो–ओरालो बाटाहरूमा अनेक अनुभव बटुले। सवारी चालक हुनु सजिलो थिएन, तर उनले कहिल्यै हिम्मत हारेनन्। बिहान सबेरै उठ्ने, यात्रुहरूलाई सुरक्षित गन्तव्यमा पुर्याउने, कहिलेकाहीँ बिग्रिएको गाडी धकेल्नेदेखि लिएर यात्रुहरूको गुनासो सुन्ने, हरेक दिन उनले परिश्रमकै जीवन बिताइरहे।
तर बासे दाइलाई चिन्नेहरू उनलाई केवल चालक मात्र मान्दैनन्। उनको मिठो बोली, सेवाभाव, इमानदारिता अनि यात्रुहरूसँगको आत्मीय सम्बन्धले नै उनलाई अरू भन्दा फरक बनाएको छ।
१५ वर्षको लामो संघर्षपछि २०८० सालमा उनले आफ्नै बस किन्ने निर्णय गरे। दुर्गाफाँटदेखि सन्धिखर्क अपडाउन गर्ने आफ्नो निजी बस चलाउन थालेपछि उनी झन् सन्तुष्ट देखिए। अब उनी अरूका लागि होइन, आफ्नै लागि मेहनत गरिरहेका थिए। गाउँघरका बासिन्दा पनि खुसी थिए, किनभने बासे दाइको बसमा यात्रा गर्नु भनेको सुरक्षित यात्रा र भरपर्दो साथ भन्ने उनीहरूलाई थाहा थियो।
बासे दाइलाई उनका साथीभाइले बेलाबेला विदेश जान सुझाव दिए। खाडी मुलुकमा राम्रो पैसा कमाइने, ड्राइभरहरूको ठूलो माग रहेको भन्दै उनलाई पनि प्रलोभन दिए। तर, बासे दाइको मन कहिल्यै फुरुङ्गिएन।
“गाउँलेहरूले मलाई विश्वास गर्छन्, म यहीँ सेवा गर्न पाएको छु, यहीँ खुसी छु।” – उनी सधैं भन्छन्।
१५ वर्षअघि दुर्गा श्रेष्ठसँग विवाह गरेका बासे दाइ अहिले दुई सन्तानका पिता हुन्। परिवारसँग समय बिताउने, गाउँका मान्छेहरूलाई सेवा दिने अनि आफ्नै गाउँठाउँमै केही गरौँ भन्ने चाहना उनको मनमा गहिरो छ।
उनले विदेशिन चाहने युवाहरूलाई सन्देश दिन्छन्, “यहाँ पनि राम्रो अवसर छन्, मेहनत गरे गाउँमै टिक्न सकिन्छ।”
रातो बसको हर्नले गाउँमा उनको आगमनको संकेत गर्छ। यात्रुहरू उनको बस कुरेर बस्छन्। बालबालिकादेखि वृद्धसम्म उनलाई चिन्छन्, रुचाउँछन्।
बासे दाइ भनेको केवल गाडी चालक होइनन्, उनी त गाउँकै अभिभावक जस्तै बनेका छन्।
गाउँलेहरूको मन जितेका, गाउँमै केही गर्ने अठोट लिएका, संघर्षलाई जितेर सफलता चुमेका बासे दाइको कथा साँच्चै प्रेरणादायी छ। गाउँ छोडेर विदेशिनु मात्र विकल्प होइन, गाउँमै केही गर्न सकिन्छ भन्ने गतिलो उदाहरण बनेका छन् उनी।